विराटनगर, १५ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसँग बिदाइ भेटघाट गर्नुभएको छ।
२०७८ साल कात्तिक २५ गते प्रदेश प्रमुखको कार्यभार सम्हाल्नुभएका खापुङ यही कात्तिक २४ गते पाँचवर्षे कार्यकाल पूरा गरी पदबाट बिदा हुनुहुँदैछ।
बिदाइ भेटका क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धिमा प्रदेश प्रमुख खापुङले पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो।
मुख्यमन्त्री कार्कीले सीमित स्रोतसाधनका बाबजुद प्रदेशमा विकास र स्थिरतालाई अगाडि बढाउने प्रयास भइरहेको जानकारी गराउँदै संघीयतापछि पाँचवर्षे कार्यकाल पूरा गरेर बिदा हुन लाग्नुभएका प्रदेश प्रमुखप्रति आभार व्यक्त गर्नुभयो।
त्यसैगरी, प्रदेश प्रमुख खापुङले अभिभावकको भूमिका निर्वाह गर्दै संवैधानिक तथा कानुनी व्यवस्थालाई व्यवस्थित बनाउन खेल्नुभएको भूमिकाप्रति पनि मुख्यमन्त्री कार्कीले धन्यवाद दिनुभयो।
भेटघाटका क्रममा प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारले गरेको सहयोग र सहकार्यप्रति आभार व्यक्त गर्नुभएको थियो। भेटमा प्रदेशको विकासलगायत विभिन्न समसामयिक विषयमा समेत छलफल भएको थियो।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ। एक प्रदेशमा पाँच वर्ष कार्यकाल पूरा गरेपछि सोही प्रदेशमा पुनः प्रदेश प्रमुख नियुक्त हुन नपाउने संवैधानिक प्रावधान रहेको छ।