इनरुवा १६, कार्तिक । सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ १७.३५ ग्रामसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतवार अपराह्न ४ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट इनरुवा बसपार्कबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका–४ निवासी ३२ वर्षीय नवीन राई र सोही ठाउँका २९ वर्षीय सुमन राई रहेका छन्।
पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंका लागेर प्रहरीले शरीर खानतलासी तथा जाँच गर्ने क्रममा नवीन राईको मलद्वारबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ १७ ग्राम ३५० मिलिग्राम फेला पारेको प्रहरीले जनाएको छ।
बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।