इनरुवा, १७ कार्तिक । उदयपुरको बेलका नगरपालिकाबाट प्रहरीले ७ हजार ८२६ किलो ८०० ग्राम अवैध गाँजा बरामद गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँजासहित ओसारपसारमा प्रयोग भएको ट्रकसमेत नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन चापागाईंका अनुसार अवैध गाँजा बोकेको ट्रक आउँदै गरेको गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो।
सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुरको टोलीले मदन भण्डारी लोकमार्गमा चेकपोइन्ट स्थापना गरी सवारीसाधन जाँच गर्ने क्रममा गाँजा बोकेको ट्रक नियन्त्रणमा लिन खोजेको थियो। तर, प्रहरीको चेकजाँचबाट बच्न खोजेका कारोबारी ट्रकसहित भागेका थिए।
उनीहरूले बेलका नगरपालिका–८ स्थित कोठु खोला क्षेत्रमा ट्रक छाडेर फरार भएका थिए। त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उक्त स्थानबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।
प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको प्रदेश १–०२–००२ ख ००२०६ नम्बरको ट्रकसमेत नियन्त्रणमा लिएको जनाएको छ।
ट्रक र गाँजा छाडेर फरार भएका चालक तथा ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा र ट्रकलाई इलाका प्रहरी कार्यालय रामपुरमा राखिएको छ।