इनरुवा, १९ भदौ । भूमि प्रशासन कार्यालय सुनसरीका प्रमुख मदन घिमिरेमाथि अदालतको आदेश कार्यान्वयनमा ढिलाइ गरेको र काम मिलाउन रकम मागेको आरोप लागेको छ।
दुहबीस्थित मैनावत्ती स्टील इन्डस्ट्रिज प्रा.लि. सँग जोडिएको मोहीको जग्गा विवादका विषयमा मोही पक्षका अधिकृत वारेस सुमन भट्टराईले इनरुवामा पत्रकार सम्मेलन गर्दै मालपोत प्रमुख घिमिरेमाथि यस्तो आरोप लगाएका हुन्।
भट्टराईका अनुसार अदालतबाट स्पष्ट आदेश हुँदासमेत मालपोत कार्यालयले अदालतको आदेशअनुसार प्रक्रिया अघि नबढाउँदा आफूहरूको काम एक वर्षभन्दा बढी समयदेखि अल्झिएको छ। अदालतको आदेश कार्यान्वयनका लागि पटक–पटक कार्यालय धाउँदा पनि प्रक्रिया अघि नबढाइएको उनको दाबी छ।
भट्टराईले काम मिलाउन प्रतिकट्ठा १० लाख रुपैयाँ माग गरिएको आरोपसमेत लगाए। आफूहरूले उक्त रकम दिन अस्वीकार गरेपछि काम झनै अल्झाइएको उनको दाबी छ।
उनका अनुसार विवादित जग्गासम्बन्धी विषयमा अदालतको आदेशबमोजिम प्रक्रिया अघि बढ्नुपर्ने भए पनि मालपोत कार्यालयबाट आवश्यक काम हुन नसक्दा मोही पक्ष लामो समयदेखि समस्यामा परेको छ।
भट्टराईले आफूहरूले लगाएको आरोपका सम्बन्धमा सम्बन्धित निकायमा प्रमाणसहित उजुरी गर्ने तयारी भइरहेको बताए। उनका अनुसार जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्बन्धित मन्त्रालय, हेलो सरकार तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत उजुरी दिने तयारी गरिएको छ।
यता, भूमि प्रशासन कार्यालय सुनसरीका प्रमुख मदन घिमिरेको यस विषयमा औपचारिक प्रतिक्रिया प्राप्त हुन सकेन। पपुलर न्यूजले कार्यालय प्रमुखले प्रयोग गर्ने फोन नम्बर ९८५२०४१३९८ मा पटक–पटक सम्पर्क गर्ने प्रयास गरे पनि फोन उठेन।