इनरुवा, भदौ २० गते । सुनसरीमा प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको किराना सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी गाउँपालिका–२ स्थित काली मन्दिर नजिकको भित्री सडकखण्डबाट भन्सार छलीका किराना सामान बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद गरेको प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार बरामद गरिएको किराना सामानको अन्दाजी मूल्य एक लाख ६३० रुपैयाँ रहेको छ ।
बरामद सामानलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लौकहीमा ल्याइएको र आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय, सेतुबन्धतर्फ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।