इनरुवा, २२ भदौ । राष्ट्रिय शोक दिवस तथा २३औँ निजामती सेवा दिवसका अवसरमा सुनसरी जिल्ला अदालतले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
राष्ट्र शोकमा रहेको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन्। अदालतका कर्मचारी तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा कानून व्यवसायी, अदालतका कर्मचारी तथा प्रहरीलगायतले रक्तदान गरेका हुन्।
रक्तदान कार्यक्रमबाट घाइते तथा बिरामीका लागि आवश्यक रगतको अभाव पूर्ति गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा सहभागीहरूले रक्तदानजस्तो अमूल्य मानवीय सेवामार्फत विपद् तथा दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
