इनरुवा, ८ कात्तिक। सुनसरीको इनरुवा बजारमा अव्यवस्थित पार्किङका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ। आज इनरुवाको मुख्य बजारस्थित गरिमा बैंक र नागमणि ज्वेलर्स अगाडि भएको दुर्घटनामा तीनवटा मोटरसाइकल र एउटा कारमा क्षति पुगेको छ भने चार जना घाइते भएका छन्।
प्रत्यक्षदर्शीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसपछि उक्त मोटरसाइकल सडक किनारमा पार्किङ गरेर राखिएको कारमा ठोक्किएको थियो। ठक्करका क्रममा मोटरसाइकलमा सवार व्यक्ति कारको पछाडिको सिसा फुटाउँदै कारभित्र पुगेका थिए। त्यसपछि कार अर्को मोटरसाइकलमा समेत ठोक्किएको बताइएको छ।
दुर्घटनाका कारण तीनवटा मोटरसाइकल र एउटा कारमा क्षति पुगेको छ। उक्त कार आनन्द पूजा ज्वेलर्सका सञ्चालक आनन्द शाहले पार्किङ गरेर राखेको बुझिएको छ। दुर्घटनामा चार जना घाइते भए पनि मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ।
प्रत्यक्षदर्शी इनरुवा नगरपालिका–५ का वडाध्यक्ष अनिल पोखरेलका अनुसार दुर्घटना ठूलो भए पनि मानवीय क्षति हुनबाट जोगिएको बताए।
इनरुवा बजारको मुख्य क्षेत्रमा सिटी रिक्सा, मोटरसाइकल तथा चारपाङ्ग्रे सवारीसाधन जथाभावी पार्किङ गरिँदा सर्वसाधारणलाई सामान्य आवतजावत गर्नसमेत कठिनाइ हुने गरेको छ। सडकको दुवैतर्फ सवारीसाधन पार्किङ गर्ने प्रवृत्तिले बजार क्षेत्र साँघुरो बन्दै गएको छ भने दुर्घटनाको जोखिमसमेत बढाएको छ।
स्थानीयवासीका अनुसार इनरुवा नगरपालिकाको नगर प्रहरी र ट्राफिक प्रहरीको उपस्थिति कहिलेकाहीँ देखिए पनि पार्किङ व्यवस्थापन र ट्राफिक नियम कार्यान्वयन प्रभावकारी हुन सकेको छैन। मुख्य बजारको गोलचोकमा नेपाल प्रहरीको उपस्थिति देखिए पनि अव्यवस्थित पार्किङ नियन्त्रण तथा सहज यातायात सञ्चालनका लागि प्रभावकारी भूमिका नदेखिएको स्थानीयको गुनासो छ।
इनरुवा क्षेत्रमा यसअघि पनि अव्यवस्थित सवारी पार्किङ र कमजोर ट्राफिक व्यवस्थापनका कारण गम्भीर दुर्घटना भएका छन्। केही समयअघि इनरुवा बसचोकमा अव्यवस्थित सिटी रिक्सा पार्किङ तथा ट्राफिक व्यवस्थापनको कमजोरीसँग जोडिएको दुर्घटनामा इनरुवा–९ बबियाकी रीता देवी यादव र भोक्राहा नरसिंहका रामदेव मेहताले ज्यान गुमाएका थिए।
यस्ता घटनापछि पनि बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा अपेक्षित सुधार हुन नसकेको स्थानीयको गुनासो छ। मुख्य बजारका चोक, सडक किनारा र व्यस्त व्यापारिक क्षेत्रलाई व्यवस्थित बनाउन नगर प्रहरी, ट्राफिक प्रहरी तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ।
सडकमा जथाभावी पार्किङ रोक्ने, सवारीसाधनका लागि निश्चित पार्किङस्थल तोक्ने, निषेधित क्षेत्रमा नियमित अनुगमन गर्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कारबाही गर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न सके बजारको आवागमन सहज बनाउनुका साथै सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिने स्थानीयको अपेक्षा छ।