इनरुवा, १७ कार्तिक । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराहक्षेत्र नगरपालिका–२ पुनर्वासस्थित भित्री सडक खण्डबाट २५ वर्षीय सञ्जीव राई पक्राउ परेका हुन् ।
मगलवार दिउँसो करिब २ः३० बजे इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले पट्नाली पुलबाट पुनर्वासतर्फ पैदल आउँदै गरेका राईलाई शंकाका आधारमा चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उनको साथबाट २ ग्राम ५७५ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईलाई बरामद पदार्थसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।