मकवानपुरमा माइक्रोबस दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते

Logo
Popular News बिहिबार, कार्तिक २७, २०८३

इनरुवा, २६ कार्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा यात्रुवाहक विद्युतीय माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब ६ बजेर १० मिनेटमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा मृत्यु हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरूको पहिचान खुल्न सकेको छैन । मृतकमध्ये अधिकांश सर्लाही जिल्लाका रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

दुर्घटनामा ३ पुरुष र २ बालक गरी ५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था र अन्य विवरणबारे थप जानकारी आउन बाँकी छ ।

दुर्घटनापछि घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार टोली परिचालन गरिएको थियो । नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले समेत उद्धार कार्य जारी राखेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीलगायत सुरक्षाकर्मी घटनास्थल पुगेर उद्धार तथा व्यवस्थापनको काम गरेका छन् । मृतकहरूको शव हेटौंडा ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ८ किलोमिटर उत्तरमा पर्दछ । गाडीमा १५ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800