

इनरुवा, ४ कार्तिक । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित चारकुने चेकप्वाइन्टबाट ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर सुनसरीबाट सप्रसनि रुद्रप्रसाद बजगाईँको कमाण्डमा खटिएको टोलीले भारततर्फबाट नेपालतर्फ पैदल आइरहेका दुई जनालाई शंका लागेपछि चेकजाँच गर्दा उनीहरूबाट लागुऔषध फेला पारेको हो।
पक्राउ परेका मध्ये सप्तरी राजविराज नगरपालिका–६ का १९ वर्षीय मोहम्मद खुर्शिदको साथबाट कालो प्लास्टिकमा बेरिएको ५३० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
उनसँगै भारतको सुपौल जिल्ला, भिमनगर ग्राम पंचायत–११ का २० वर्षीय नबि हुसेन पनि रहेको र दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय भण्टाबारीलाई बुझाइएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले जानकारी दिएको छ।