हिन्दु विरोधी अभिव्यक्तीको आरोपपछि राजविराजमा तनाव

Logo
Popular News शुक्रबार, पुष ११, २०८२

इनरुवा, ११ पुस । हिन्दुधर्मावलम्बीको आस्थामा चोट पुग्ने अभिव्यक्ती सामाजिक सञ्जालमार्फत गरिएको आरोपपछि सप्तरीको सदरमुकाम राजविराजमा विगत दुई दिनदेखि तनावपूर्ण बनेको छ।

घटना पछि हिन्दुधर्मावलम्बी युवाहरूले चर्को विरोध प्रदर्शन गर्दै आएका छन्। यसैक्रममा शुक्रबार हिन्दु सम्राट सेना र बजरंग दल सप्तरीले राजविराज बजार बन्द गराएका छन्।

बिहानैदेखि सडकमा भेला भएका आन्दोलनकारीहरूले विभिन्न स्थानमा टायर बाल्दै तथा बाँसको ढाट लगाएर आवागमन अवरुद्ध गरेका थिए। आन्दोलन तथा सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सप्तरी जिल्ला अदालतले सूचना टाँस गरी एक दिनका लागि सेवा स्थगित गरेको जनाएको छ।

हिन्दु देवी–देवतामाथि सामाजिक सञ्जालमा अभद्र टिप्पणी गरिएको आरोप लगाउँदै आन्दोलनकारीहरूले सम्बन्धित व्यक्तिमाथि कडा कारबाहीको माग गरेका छन्। राजविराज–१ निवासी अफरोज आलमले सामाजिक सञ्जालमार्फत हिन्दु धर्म तथा देवी–देवतामाथि आपत्तिजनक टिप्पणी गरेको आरोपपछि विरोध चर्किएको हो।

आलमले भने उक्त पोस्ट तीन वर्षअघि भुलवश गरिएको भन्दै सार्वजनिक रूपमा क्षमायाचना गरिसकेको र भविष्यमा यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दासले आलमलाई पक्राउ गरी कानुनी कारबाही नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।

आन्दोलन थप चर्किँदै जाँदा साम्प्रदायिक सद्भावमा असर पर्न सक्ने जोखिम देखिएकाले स्थानीय प्रशासनले दुवै धर्मावलम्बीका अगुवा तथा आन्दोलनरत पक्षसँग छलफल गरी समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800