इनरुवा, १६ पुस । सुनसरीमा शीतलहरको प्रभाव बढ्दै गएपछि चिसो अत्यधिक भएको भन्दै जिल्लाभरका विद्यालयमा बिदा दिइएको छ।
शीतलहरको असर तीव्र बनेपछि सुनसरीका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा यही पुस १६ गतेदेखि १८ गतेसम्म बिदा दिने निर्णय गरेका हुन्। इनरुवा, दुहबी, कोशी गाउँपालिका, हरिनगर, रामधुनीलगायत जिल्लाका सबै स्थानीय तह अन्तर्गतका विद्यालयहरू बन्द रहने जनाइएको छ।
स्थानीय तहका अनुसार उक्त बिदा विद्यालयको सञ्चित वार्षिक बिदाबाट कट्टा हुने गरी लागू गरिएको हो। साथै चिसोको कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै अभिभावकलाई बालबालिकालाई घरमै न्यानो अवस्थामा राख्न आग्रह गरिएको छ।