इनरुवा, ५ कार्तिक। थारू समुदायको परम्परागत ज्ञान, अनुशासन र संस्कारसँग जोडिएको पौराणिक सांस्कृतिक परम्परा ‘चैठसार’ लोप हुने अवस्थामा पुगेको छ।
थारू समुदायमा प्राचीन कालदेखि दसैँको अवसरमा घटस्थापनादेखि दस दिनसम्म चैठसार आयोजना गर्ने चलन रहँदै आएको छ। यही परम्पराअनुसार रामधुनी नगरपालिका–८ स्थित अर्ता बसहा गाउँमा बुधबार चैठसार कार्यक्रम सम्पन्न भएको छ।
गुरु भुतरलाल चौधरी धामीका अनुसार उहाँले विगत १२ वर्षदेखि निरन्तर रूपमा चैठसार कार्यक्रम आयोजना गर्दै आउनुभएको छ।
जानकारहरूका अनुसार चैठसार थारू समुदायको परम्परागत ज्ञान, अनुशासन र संस्कारसँग जोडिएको गुरुकुल शिक्षा प्रणालीजस्तै अभ्यास हो। यसले पुरानो पुस्ताबाट नयाँ पुस्तामा परम्परागत ज्ञान र संस्कार हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
कार्यक्रममा सहभागी लक्ष्मी चौधरीका अनुसार चैठसारमा सहभागी हुनेहरूले कडा नियम र अनुशासन पालना गर्नुपर्ने हुन्छ। यस अवधिमा सहभागीहरूले दिनमा एक छाक दूध, भात र फलफूल सेवन गरी उपवास बस्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो।
थारू समुदायमा चैठसारलाई प्राकृतिक चिकित्सा तथा परम्परागत उपचार पद्धतिसँग समेत जोडेर हेर्ने गरिएको जानकारहरू बताउँछन्। तर, पछिल्लो समय नयाँ पुस्तामा यस्ता मौलिक परम्पराप्रतिको चासो घट्दै जाँदा यसको संरक्षण चुनौतीपूर्ण बन्दै गएको उनीहरूको भनाइ छ।
थारू समुदायको मौलिक संस्कृति, परम्परागत ज्ञान र ऐतिहासिक पहिचान जोगाउन चैठसारजस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जानकारहरूले जोड दिएका छन्। चैठसार कार्यक्रममा रामधुनी, इटहरी, बराहक्षेत्र, इनरुवालगायत विभिन्न स्थानबाट सहभागीहरू उपस्थित भएका थिए।