इनरुवा, १७ पुस । सुनसरीको लौकही क्षेत्रमा तस्करी नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनापछि लौकही बजार तनावग्रस्त बनेको छ।
सशस्त्र प्रहरीका अनुसार भारततर्फबाट भन्सार छलेर सामान बोकी नेपाल प्रवेश गर्दै गरेको एउटा अटो रिक्सा रोक्न खोज्दा तस्कर समूहले फायर गर्दै भागेपछि प्रहरीले दुई राउन्ड जवाफी फायर गरेको थियो।
जवाफी फायरिङका क्रममा पछाडिबाट सामान बोकेर आइरहेको सिटी सफारीमा सवार एक व्यक्तिलाई गोली लागेको सशस्त्र प्रहरीको भनाइ छ। गोली लागेका ती व्यक्तिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि आक्रोशित स्थानीयले शव उठाउन नदिएपछि क्षेत्र तनावग्रस्त बनेको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।