इनरुवा, ३० असोज। सुनसरीको इनरुवास्थित रामजानकी मन्दिरको प्राङ्गणमा आयोजित डान्डिया नाचमा सहभागीहरूको व्यापक उपस्थिति देखिएको छ। नवरात्रिको अवसरमा आयोजित डान्डिया नाचमा महिला तथा पुरुषले उत्साहपूर्वक सहभागिता जनाएका छन्।
डान्डिया नाच भारतको गुजरात राज्यमा प्रचलित लोकप्रिय परम्परागत लोकनृत्य हो। विशेषगरी नवरात्रिका बेला गरिने यस नृत्यमा सहभागीहरूले रंगीन परम्परागत पोसाक लगाएर हातमा काठका साना लट्ठी (डान्डिया) लिई संगीतको तालमा नाच्ने गर्छन्।
धार्मिक आस्था, सांस्कृतिक परम्परा र आपसी सद्भावलाई जोड्ने डान्डिया नाचले इनरुवामा चाडपर्वको रौनक थपेको छ। रामजानकी मन्दिरको प्राङ्गणमा भएको कार्यक्रमले स्थानीय कला, संस्कृति र सामुदायिक सहभागितालाई समेत प्रोत्साहन गरेको छ।


