इनरुवा, २६ कार्तिक । सुनसरीको देवानगञ्ज क्षेत्रमा गाईभैँसी चोरीका घटना बढ्दै गएपछि सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले सीसीक्यामेरा जडान गर्ने अभियान सुरु गर्ने घोषणा गरेका छन्।
देवानगञ्ज गाउँपालिका–४ मा बुधबार राति एउटै घरबाट दुईवटा ठूला भैँसी र एउटा पाडो चोरी भएपछि सांसद थापाले यस्तो घोषणा गरेका हुन्।
सांसद थापाले विहिवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै देवानगञ्जका किसानका गोठबाट दैनिकजसो भैँसी चोरी हुने घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनले भैँसी चोरीका घटनालाई सामान्य चोरीका रूपमा मात्र लिन नहुने उल्लेख गर्दै यस्ता गतिविधिले किसानको सम्पत्तिमाथि प्रहार गर्नुका साथै समाजमा अशान्ति र सामाजिक सद्भाव बिथोल्ने अवस्था सिर्जना गर्न सक्ने दाबी गरेका छन्।
थापाले यस्ता अवाञ्छित गतिविधि नियन्त्रण गर्न स्थानीय प्रशासनको तत्काल ध्यानाकर्षण गराउँदै किसानको धनमालको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न माग गरेका छन्।
यसैबीच, देवानगञ्जका मुख्य–मुख्य चोकमा यसै वर्ष बजेटको व्यवस्था गरेर सीसीक्यामेरा जडान गर्ने अभियान सुरु गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्। प्रारम्भिक चरणमा केही संवेदनशील स्थानमा सीसीक्यामेरा जडान गरिने र त्यसपछि अभियानलाई विस्तार गर्दै लगिने उनको भनाइ छ।
सीमावर्ती क्षेत्रमा लगातार भइरहेका पशु चोरीका घटनाले किसानहरू चिन्तित बनेका बेला सीसीक्यामेरा जडान अभियानले चोरी नियन्त्रण तथा सुरक्षा व्यवस्थामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
