स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।
इनरवा, १७ पुस । सुनसरीको बोर्डर क्षेत्र नजिक सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । आक्रोशित स्थानीयले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनीसमेत गरेका छन् ।स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।
कोशी गाउँपालिका–१ मा बिहीबार राति करिब १ बजे तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । प्रहरीका अनुसार साह भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायतका सामान बोकेर नेपाल प्रवेश गर्दै थिए । घर नजिकै उनीमाथि गोली चलेको र उनलाई दुई राउण्ड गोली लागेको जनाइएको छ ।
घटनापछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गर्दै शव सडकमा राखेर प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार प्रदर्शनका कारण ठूला सवारी साधन चल्न सकेका छैनन् भने मोटरसाइकल मात्र आवत–जावत भइरहेको छ ।
प्रहरी र स्थानीयबीच बिहीबार बिहान वार्ता भए पनि सहमति हुन सकेन । स्थानीयले दोषीमाथि तत्काल कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन् ।
यसैबीच, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीले तस्करीको सामान नियन्त्रण गर्ने क्रममा क्रस फायरिङ भएको जनाएको छ । गण प्रमुख एसपी निर्मल थापाका अनुसार भन्सार छलीका सामान बोकेको अटो रोक्ने क्रममा समूहबाट पहिला फायरिङ भएको र जवाफी फायरिङका क्रममा पछाडिबाट आउँदै गरेको सिटी चालकलाई गोली लाग्न पुगेको हो ।
घटनापछि क्षेत्रको सुरक्षा अवस्था कडा पारिएको छ ।