सेटिङमा तस्करी, सीमा वारपार : कुरा नमिल्दा निहत्था विजय साह जस्तामाथि गोली प्रहार

स्थानीयहरू भन्छन्, “तस्करी रोक्ने हो भने सबैका लागि समान नियम लागू हुनुपर्छ, नत्र निर्दोषको रगत बगिरहन्छ।”
Logo
Popular News शनिबार, पुष १९, २०८२

इनरुवा, १९ पुस । सुनसरीको सीमावर्ती क्षेत्र लौकहीमा तस्करी नियन्त्रणको नाममा भएको गोलीकाण्डले सुरक्षा निकायको भूमिका र सीमा क्षेत्रमा मौलाउँदै गएको अवैध धन्दाबारे गम्भीर प्रश्न खडा गरेको छ। स्थानीयवासीका अनुसार भारत–नेपाल सीमा वारपार खुलेआम भइरहेको तस्करीमा ‘सेटिङ’ हाबी हुँदै आएको र सोही सेटिङ नमिल्दा निहत्था स्थानीय युवक विजय साह जस्तामाथि गोली प्रहार गरिएको हो।

घटना पुस १७ गते राति करिब १ः१५ बजे भएको हो। प्रत्यक्षदर्शीहरूका अनुसार सशस्त्र प्रहरीको टोलीले सीमाबाट सामान बोकेर आइरहेको एक अटो रिक्सा रोकेपछि विवाद सुरु भएको थियो। सामान्य भनाभनकै क्रममा निहत्था रहेका विजय साहमाथि गोली चलाइँदा उनी घटनास्थलमै ढलेका थिए। छातीमा दुई गोली लागेको कारण उनको घटनास्थलमै मृत्यु भएको स्थानीयको भनाइ छ।

यसैबीच मृतक विजय साहकी पत्नीले गम्भीर आरोप लगाएकी छन्। उनका अनुसार सशस्त्र प्रहरीले साहसँग ५ सय रुपैयाँ मागेको र साहले उक्त रकम ल्याउन पत्नीलाई फोन गरिरहेका बेला नै गोली हानी हत्या गरिएको आरोप छ।

स्थानीयवासीहरू भन्छन्, “सीमामा दिनहुँ ठूलो मात्रामा तस्करी हुन्छ। केहीलाई छुट दिइन्छ, केहीमाथि मात्र कारबाही देखाइन्छ। सेटिङ नमिल्दा निर्दोषमाथि गोली चलाइनु दुःखद र निन्दनीय हो।” उनीहरूका अनुसार विजय साह निहत्था थिए र प्रहरीमाथि आक्रमण गर्ने कुनै अवस्था नै थिएन।

घटनापछि लौकही बजार तनावग्रस्त बनेको थियो। आक्रोशित स्थानीयले सडक अवरुद्ध गर्दै दोषी सुरक्षाकर्मीमाथि कारबाही, मृतक परिवारलाई क्षतिपूर्ति र निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए। स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको थियो। केही  हवाई फायर र अश्रुग्यास प्रयोग गर्नुपरेको अवस्था समेत बनेको थियो।

सशस्त्र प्रहरीले भने ‘क्रस फायर’ भएको दाबी गर्दै आत्मरक्षाका लागि गोली चलाउनुपरेको जनाएको छ। तर स्थानीयवासी तथा मृतक परिवारले उक्त दाबी अस्वीकार गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय बैठक बसेर ७ बुँदे सहमति भएको छ। सहमतिअनुसार घटनाको सत्य–तथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले दोषी देखिएमा कानुनी कारबाहीको सिफारिस गर्ने बताइएको छ।

सीमामा लामो समयदेखि चल्दै आएको तस्करी, त्यसमा हुने भनिएको सेटिङ र त्यसकै परिणामस्वरूप निर्दोषले ज्यान गुमाउनुपरेको घटनाले राज्यको सुरक्षा संयन्त्रप्रति जनविश्वास डगमगाएको स्थानीयको गुनासो छ। उनीहरू भन्छन्, “तस्करी रोक्ने हो भने सबैका लागि समान नियम लागू हुनुपर्छ, नत्र निर्दोषको रगत बगिरहन्छ।”

विजय साहको मृत्युले सीमावर्ती क्षेत्रको शान्ति मात्र होइन, सुरक्षा निकायको जवाफदेहिता र तस्करी नियन्त्रणको वास्तविक अवस्थामाथि पनि गम्भीर प्रश्न खडा गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800