सुनसरी जिल्लाका ५९ मतदानस्थल अति संवेदनशील

Logo
Popular News बुधबार, फाल्गुण १३, २०८२

इनरुवा, १३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुनसरी जिल्लाका ५९ वटा मतदानस्थल अति संवेदनशील सूचीमा राखिएका छन्।

जिल्ला सुरक्षा समितिले तयार पारेको विस्तृत सुरक्षा योजनाअनुसार अधिकांश भारतसँग सीमा जोडिएका स्थानीय तहका मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका हुन्।
सुनसरीको १२ स्थानीय तहमध्ये बर्जु गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, कोशी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकालाई सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएको छ। सीमावर्ती भेगमा पर्ने यी पालिकाका सबै मतदानस्थल उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

दक्षिणी भेगका अतिरिक्त दुहबी नगरपालिकाका ६ वटा मतदानस्थल, गढी गाउँपालिकाका ३ वटा मतदानस्थल, इनरुवा–९ का ४ वटा मतदानस्थल तथा धरान–५ स्थित हिमाली मा।वि। देउराली मतदानस्थल पनि अति संवेदनशील सूचीमा परेका छन्।

सुनसरी प्रशासनले विशेषगरी जिल्लाको दक्षिणी खुला नाकालाई मुख्य सुरक्षा चुनौतीका रूपमा लिएको छ। भारतीय समकक्षीसँग समन्वय गरी सीमा नाकामा कडाइ थालिएको र आवतजावतमा दुईतर्फी चेकजाँच बढाइएको प्रशासनले जनाएको छ।

जिल्लामा चार निर्वाचन क्षेत्र रहेका छन्। निर्वाचनका लागि १ सय ६६ मतदानस्थल र ५९१ मतदान केन्द्र तोकिएका छन्। प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि १५० भन्दा बढी नेपाल प्रहरी तथा ३,१४९ निर्वाचन प्रहरी परिचालन गरिनेछ। अति संवेदनशील तथा संवेदनशील क्षेत्रमा मोबाइल टोली, सशस्त्र प्रहरी बल र तेस्रो तहमा नेपाली सेना परिचालन गरिने योजना रहेको छ।

सुनसरीमा कुल मतदाता संख्या ५ लाख ८० हजार ९४५ रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800