विराटनगर, ३० असार । कोशी प्रदेश सरकारले प्रदेशभित्र उत्पादित वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यले कर्मचारीका लागि स्थानीय उत्पादनबाट निर्मित कार्यालय पोसाक अनिवार्य गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अब प्रदेश सरकारका कर्मचारीहरूले साताको बुधबार र शुक्रबार अनिवार्य रूपमा ढाका, खाँडी र अल्लोका कपडाबाट बनेका पोसाक लगाउनुपर्ने व्यवस्था गरिएको छ।
स्थानीय उत्पादनको प्रयोगलाई थप प्रभावकारी बनाउन सरकारले कर्मचारीलाई उपलब्ध गराउँदै आएको वार्षिक पोसाक भत्तामा प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ थप गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो अभियानलाई प्रदेशभर विस्तार गर्ने योजना रहेको बताउँदै आगामी आर्थिक वर्ष २०८३/०८४ देखि स्थानीय तहहरूले पनि यो अभियान लागू गर्न चाहेमा प्रदेश सरकारले लागत साझेदारी गर्ने नीति लिएको जानकारी दिएका छन्।