इनरुवा, १८ भदौ । भोटेकोशी बाढीपीडित बिरामीहरूको उपचारका लागि आवश्यक पर्ने रगत व्यवस्थापन गर्ने उद्देश्यले बृहत् रक्तदान कार्यक्रममा १२४ जनाले रक्तदान गरेका छन्।
सुनसरी इनरुवा नगरपालिका–४ स्थित बसचोकमा बिहीबार विभिन्न संघसंस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
आयोजकका अनुसार कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विभिन्न सामाजिक संघसंस्था तथा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। भोटेकोशी बाढीबाट प्रभावित बिरामीहरूको उपचारका क्रममा रगतको अभाव हुन नदिन तथा मानवीय सेवामा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकमध्येका रमेश भट्टराईले जानकारी दिए।
स्थानीय सुनोज निरौलाले विपद्का समयमा रगतको अभाव हुन नदिन तथा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
नेपाल रेडक्रस सोसाइटी सुनसरी–धरान रक्तसञ्चार सेवा केन्द्रका प्राविधिक सहइन्चार्ज सुरेन्द्रप्रसाद साहका अनुसार कार्यक्रममा १२४ पिन्ट रगत संकलन भएको छ।