इनरुवा, १३ असोज । इनरुवा नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समिति संयोजक विनिता कुमारी मेहताले समाजमा हुने सानातिना विवादलाई स्थानीयस्तरमै सौहार्दपूर्ण वातावरणमा समाधान गर्न मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने बताएकी छन्।
इनरुवा नगरपालिकाको न्यायिक शाखाले आयोजना गरेको वार्षिक समीक्षा, क्षमता अभिवृद्धि तथा नियुक्तिपत्र वितरण कार्यक्रममा बोल्दै उपप्रमुख मेहताले मेलमिलापकर्ताहरूलाई निष्पक्ष, न्यायसंगत र जिम्मेवार ढंगले काम गर्न आग्रह गरिन्।
उनले नागरिकलाई सहज र सर्वसुलभ रूपमा न्यायको पहुँचमा पुर्याउन मेलमिलापकर्ताहरूको भूमिका प्रभावकारी हुनुपर्ने बताइन्। स्थानीयस्तरमा उत्पन्न हुने विवादलाई मेलमिलापको माध्यमबाट समाधान गर्दा समाजमा शान्ति, सद्भाव र आपसी सम्बन्ध कायम गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा उपप्रमुख मेहताले नवनिर्वाचित तथा छनोट भएका मेलमिलापकर्ताहरूलाई नियुक्तिपत्रसमेत वितरण गरिन्।
कार्यक्रममा न्यायिक शाखाले गत वर्ष गरेका कामको समीक्षा गर्दै आगामी दिनमा न्यायिक प्रक्रियालाई थप प्रभावकारी र नागरिकमैत्री बनाउने विषयमा छलफल गरिएको थियो। साथै, मेलमिलापकर्ताहरूको कानुनी ज्ञान, सीप तथा कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न व्यावहारिक विषयमा अभिमुखीकरण तथा तालिमसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, न्यायिक शाखाका कर्मचारी, कानुन व्यवसायी तथा नगरपालिकाका विभिन्न वडाबाट छनोट भएका मेलमिलापकर्ताहरूको सहभागिता रहेको थियो।