सुनसरीका दुई विद्यालय ६ करोडका पूर्वाधार विकास योजनामा छनोट

बराहक्षेत्र नगरपालिकास्थित जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय र धरान उपमहानगरपालिकास्थित पब्लिक हाई स्कुल छनोट भएका हुन्।
Logo
Popular News शुक्रबार, आश्विन ३०, २०८३

इनरुवा, ३० असोज । सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विस्तार तथा सुदृढीकरणका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले अघि बढाएको योजनाअन्तर्गत सुनसरीका दुई विद्यालय छनोटमा परेका छन्।

पहिलो चरणमा बराहक्षेत्र नगरपालिकास्थित जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय र धरान उपमहानगरपालिकास्थित पब्लिक हाई स्कुल छनोट भएका हुन्।

दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयको पूर्वाधार सुधार गर्ने सरकारी योजनाअन्तर्गत देशभरका ८९ विद्यालय पहिलो चरणमा छनोट भएका छन्। कोशी प्रदेशबाट १८ विद्यालय छनोट भएका छन्। प्रदेशगत रूपमा सबैभन्दा धेरै ३३ विद्यालय मधेश प्रदेशबाट छनोट हुँदा लुम्बिनीबाट २१ र कोशीबाट १८ विद्यालय परेका छन्।

मन्त्रालयका अनुसार देशभरका १०९ विद्यालयका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। त्यसमध्ये पहिलो चरणमा छनोट भएका ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार छनोट भएका प्रत्येक विद्यालयमा करिब ६ करोड रुपैयाँको लागतमा पूर्वाधार निर्माण गरिनेछ। योजनाअन्तर्गत आधुनिक १२ कोठे तीनतले भवन, प्रयोगशाला र सुविधासम्पन्न पुस्तकालय निर्माण गरिनेछ।

यसबाट विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र सहज सिकाइ वातावरण उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कोशी प्रदेशबाट छनोट भएका विद्यालयमध्ये झापा र मोरङका ६–६ वटा छन्। सुनसरी र उदयपुरका दुई–दुई तथा ताप्लेजुङ र पाँचथरका एक–एक विद्यालय छनोटमा परेका छन्।

झापाको बिर्तामोड नगरपालिकाबाट देवी माध्यमिक विद्यालय, महेन्द्र रत्न माध्यमिक विद्यालय र मोहनमाया माध्यमिक विद्यालय छनोट भएका छन्। मोरङको विराटनगर महानगरपालिका र सुन्दरहरैँचा नगरपालिकाबाट दुई–दुई विद्यालय परेका छन्।

कोशी प्रदेशबाट छनोट भएका १८ विद्यालय

१. धुलाबारी माध्यमिक विद्यालय — मेचीनगर नगरपालिका, झापा
२. हिमालय माध्यमिक विद्यालय — दमक नगरपालिका, झापा
३. देवी माध्यमिक विद्यालय — बिर्तामोड नगरपालिका, झापा
४. महेन्द्र रत्न माध्यमिक विद्यालय — बिर्तामोड नगरपालिका, झापा
५. कन्काई माध्यमिक विद्यालय — कन्काई नगरपालिका, झापा
६. मोहनमाया माध्यमिक विद्यालय — बिर्तामोड नगरपालिका, झापा
७. साजीलाल माध्यमिक विद्यालय — सुन्दरहरैँचा नगरपालिका, मोरङ
८. सुकुना माध्यमिक विद्यालय — सुन्दरहरैँचा नगरपालिका, मोरङ
९. पोखरिया माध्यमिक विद्यालय — विराटनगर महानगरपालिका, मोरङ
१०. आदर्श माध्यमिक विद्यालय — विराटनगर महानगरपालिका, मोरङ
११. राधिका माध्यमिक विद्यालय — उर्लाबारी नगरपालिका, मोरङ
१२. पञ्चायत माध्यमिक विद्यालय — पथरीशनिश्चरे नगरपालिका, मोरङ
१३. जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय — बराहक्षेत्र नगरपालिका, सुनसरी
१४. पब्लिक हाई स्कुल — धरान उपमहानगरपालिका, सुनसरी
१५. त्रियुगा नमुना माध्यमिक विद्यालय — त्रियुगा नगरपालिका, उदयपुर
१६. त्रिवेणी माध्यमिक विद्यालय — कटारी नगरपालिका, उदयपुर
१७. भानु माध्यमिक विद्यालय — फुङ्लिङ नगरपालिका, ताप्लेजुङ
१८. फिदिम माध्यमिक विद्यालय — फिदिम नगरपालिका, पाँचथर

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800