भोक्राहामा लागुऔषध बरामदका क्रममा स्थानीयबाट हुलहुज्जत र प्रमाण नष्ट गर्ने प्रयास भएको सशस्त्र प्रहरीको दाबी

Logo
Popular News बिहिबार, कार्तिक ०६, २०८३

इनरुवा, ५ कात्तिक । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित नहर चोक नजिकबाट प्रतिबन्धित लागुऔषधसहित मोटरसाइकल बरामद गर्ने क्रममा स्थानीयले सुरक्षाकर्मीलाई घेराउ गरी हुलहुज्जत गरेको र बरामद हुन लागेको लागुऔषध लुटपाट गरी प्रमाण नष्ट गर्ने प्रयास गरेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीले सार्वजनिक गरेको विवरणअनुसार विशेष सूचनाका आधारमा खटिएको गस्ती टोलीले कात्तिक ४ गते मंगलबार अपराह्न करिब २ः३० बजे भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित पुरानो स्टार होटल नजिक शंकास्पद अवस्थामा रहेको मोटरसाइकललाई पछ्याएको थियो।

प्रदेश १–०२–०४७ प १४७२ नम्बरको सेतो–कालो रङको २०० सीसीको मोटरसाइकल चालकले सुरक्षाकर्मीले पछ्याएपछि मोटरसाइकल भवन परिसरमा पार्क गरी भित्र पसेर चेन गेट लगाएको सशस्त्र प्रहरीको भनाइ छ। पटक–पटक बोलाउँदा पनि चालक बाहिर नआएपछि सुरक्षाकर्मीले मोटरसाइकल कम्पाउन्डबाट निकालेर पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा ल्याएको जनाइएको छ।

त्यसक्रममा अपराह्न करिब २ः४५ बजे ५० देखि ५५ जनाको संख्यामा स्थानीय भेला भएर सुरक्षाकर्मीको टोलीलाई घेराउ गर्दै ड्युटीमा बाधा पुर्‍याएको सशस्त्र प्रहरीले जनाएको छ। घटनास्थलमा नेपाल प्रहरीको टोलीसमेत पुगेपछि दुवै सुरक्षा निकायले संयुक्त रूपमा मोटरसाइकल जाँच गरेको बताइएको छ।

सशस्त्र प्रहरीका अनुसार जाँचका क्रममा केही व्यक्तिले बरामद हुन लागेको लागुऔषध लुटपाट गर्ने र दसी प्रमाण नष्ट गर्ने प्रयास गरेका थिए। उनीहरूले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा निर्दोष व्यक्तिलाई फसाउन खोजिएको आरोपसमेत लगाएको सशस्त्र प्रहरीको विवरणमा उल्लेख छ।

स्थानीयको विरोध र तानातानका क्रममा भुइँमा खसेको कालो प्लास्टिकको पोको सशस्त्र प्रहरी सहायक हवल्दार नरबहादुर खड्काले सुरक्षित रूपमा उठाएर पुनः मोटरसाइकलमा राखी जाँच अघि बढाएको सशस्त्र प्रहरीले जनाएको छ।

जाँचका क्रममा कालो प्लास्टिकभित्र लुकाइछिपाइ राखिएको प्रतिबन्धित लागुऔषध फेला परेको बताइएको छ। सशस्त्र प्रहरीका अनुसार बरामद लागुऔषधमा नाइट्रोजेपामका १० पत्ता , ट्रामाडोलका १६ पत्ता  र स्पास्मोका ४ पत्ता  रहेका छन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार लागुऔषध र मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ।
तर स्थानियले लागु औषध मोटरसाईकलमा राखेर चालकलाई फसाउन खोजिएको आरोप लगाएका थिए ।

पछिल्लो समय सुनसरीका सीमावर्ती तथा सहरी क्षेत्रमा लागुऔषध ओसारपसार र अवैध कारोबार नियन्त्रण गर्न सुरक्षा निकायले निगरानी बढाएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800