सुनसरीमा तीन महिनामा दुई करोडभन्दा बढीको भन्सार दाखिला, २ हजार २३९ किलो गाँजा बरामद

Logo
Popular News बिहिबार, कार्तिक ०६, २०८३

इनरुवा, ५ कात्तिक। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीले पछिल्लो तीन महिनामा सीमा क्षेत्रबाट अवैध रूपमा भित्र्याइएका सामान तथा सवारीसाधन बरामद गरी दुई करोड चार लाख रुपैयाँभन्दा बढीको भन्सार दाखिला गरेको जनाएको छ।

हेडक्वार्टर सुनसरीका अनुसार मातहतका युनिटबाट खटिएका सशस्त्र प्रहरी टोलीले अवैध सामान तथा सवारीसाधन बरामद गर्ने क्रममा १६८ वटा मुद्दा दर्ता गरेका छन्। बरामद गरिएका ३१ वटा सवारीसाधनसहितका सामानको कुल मूल्य दुई करोड चार लाख ६२ हजार पाँच सय ९८ रुपैयाँ रहेको छ।

यसैगरी, सोही अवधिमा लागुऔषधसम्बन्धी १७ वटा मुद्दा दर्ता भएका छन्। सशस्त्र प्रहरीले तीन महिनाको अवधिमा दुई हजार दुई सय ३९ दशमलव ४६ किलोग्राम गाँजा बरामद गरेको जनाएको छ। त्यसका साथै १२ दशमलव ९३ ग्राम ब्राउन सुगर र विभिन्न प्रकारका लागुऔषधका ट्याब्लेटसमेत बरामद गरिएको छ।

प्राप्त विवरणअनुसार लागुऔषधसम्बन्धी घटनामा ११ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूबाट आठ वटा मोटरसाइकल, एउटा स्कार्पियो, एउटा सुमो र एउटा एम्बुलेन्ससमेत बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीले जनाएको छ।

सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्नुका साथै लागुऔषधको कारोबार रोकथाम गर्न निगरानी र गस्तीलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार सीमा क्षेत्रमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउने र अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले मातहतका युनिटमार्फत निगरानी तथा कारबाहीलाई निरन्तरता दिइँदै आएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800