इनरुवा १६, कार्तिक । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले २०९ किलो ४२० ग्राम गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा प्रहरीले दुई राउण्ड हवाई फायरसमेत गरेको जनाएको छ।
प्रहरीका अनुसार २०८३ साल कात्तिक १६ गते दिउँसो करिब ३ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको अवस्थामा छापा मारेको थियो।
प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेर भाग्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जनाएको छ। त्यसपछि प्रहरीले बा १० च ५०३८ र को १ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो गाडीसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्र प्रसाद मण्डल, भारतको बिहार राज्यअन्तर्गत मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र सुनसरीको धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे रहेका छन्।
प्रहरीले बरामद गरिएको २०९ किलो ४२० ग्राम गाँजा र दुवै स्कार्पियो गाडीसहित पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।