वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४८औँ सञ्चालक परिषद् सभा सम्पन्न, सबै प्रस्ताव सर्वसम्मत पारित

Logo
Popular News बुधबार, कार्तिक १९, २०८३

इनरुवा, १८ कार्तिक । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालक परिषद्को ४८औँ सभा सम्पन्न भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री एवं प्रतिष्ठानकी सहकुलपति निशा मेहताको अध्यक्षतामा गत कात्तिक १७ गते मंगलबार काठमाडौंमा सभा सम्पन्न भएको हो।

सभामा प्रतिष्ठानकी उपकुलपति तथा सदस्य–सचिव प्रा.डा. स्मृति कार्कीले समग्र प्रतिवेदन प्रस्तुत गर्दै प्रतिष्ठानका गतिविधिबारे जानकारी गराउनुभएको थियो। त्यसैगरी, शिक्षाध्यक्ष प्रा.डा. शिवेन्द्र झाले शैक्षिक तथा अनुसन्धानात्मक गतिविधि, रजिस्ट्रार धरणीधर बरालले आर्थिक तथा प्रशासनिक अवस्था र अस्पताल निर्देशक डा. इन्द्रकुमार लिम्बूले अस्पताल सेवासम्बन्धी विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

पदाधिकारीहरूले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल गर्दै सभामा प्रस्तावित विभिन्न विषयवस्तुमा विस्तृत विचारविमर्श गरिएको थियो। छलफलपछि सभामा प्रस्तुत गरिएका सम्पूर्ण प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको प्रतिष्ठानले जनाएको छ।

सभा समापनका क्रममा उपकुलपति प्रा.डा. कार्कीले सभाको अध्यक्षता गर्नुभएकी मन्त्री मेहतासहित सम्पूर्ण सभासद् तथा आमन्त्रित महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। उहाँले प्रतिष्ठानको संस्थागत विकास र आगामी कार्ययोजनालाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो।

सभाध्यक्षसमेत रहनुभएकी मन्त्री मेहताले प्रतिष्ठानको सर्वोपरी हित र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले नेपाल सरकार तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय प्रतिष्ठानको विकासका लागि सधैँ सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दै पदाधिकारीहरूलाई संस्थागत विकासका काममा समर्पित भएर लाग्न निर्देशन दिनुभयो।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800