काठमाडौं, १८ कार्तिक । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेको हो। यसअघि केसी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको नेतृत्वमा कार्यरत थिए।
सरकारले २०८२ असोज ५ गते केसीलाई प्रहरीको प्रदेश समन्वय विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरेको थियो। त्यसपछि उनी अपराध अनुसन्धान विभागमा पुगेका थिए।
दानबहादुर कार्की आईजीपी नियुक्त हुँदा केसी पनि महानिरीक्षक पदका प्रतिस्पर्धी थिए। केसी कार्की एकै ब्याचका प्रहरी अधिकृत हुन्।
यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा केसीले चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका थिए। लामो समयदेखि अलपत्र रहेको उक्त प्रकरणको जाहेरीमाथि अनुसन्धान अघि बढाउँदै उनले २०७९ चैत १२ गते तीन जना आरोपितलाई पक्राउ गरेका थिए।