

विराटनगर, १३ असार । मोरङको विराटनगरमा जिउँदो व्यक्तिलाई मृत्यु भएको भनी कागजपत्र बनाई जग्गा हडप्ने खेलमा संलग्न जनप्रतिनि सहित १० विरुद्ध मुद्दा परेको छ ।
नेकपा (एमाले) का निर्वाचित विराटनगर–२ का वडाध्यक्ष कुमार पोखरेल र तत्कालीन सचिव सुूर्यबहादुर थापासहित १० जनाको संलग्नता रहेको भन्दै मुद्दा परेको हो ।
जीवितै रहेका विराटनगर–११ पिछरा घर भई हाल काठमाडौँमा बस्दै आएका ७० वर्षीय केदारबहादुर बस्नेतलाई मृत्यु भएको भनी देखाएर २०७५ सालमा सर्जमिन गरिएको तथ्य सार्वजनिक भएको छ । उनको २०५८ सालमै मृत्यु भएको देखाइएको छ । जिउँदो व्यक्तिलाई मृत्यु भएको कागजपत्र बनाएपछि केदारबहादुरले वडाध्यक्ष पोखरेल, तत्कालीन सचिव थापा, जिउँदो व्यक्तिलाई मरेको कागजपत्र देखाएर जग्गा हडप्न खोज्ने भरतबहादुर बस्नेतसहित १० विरुद्ध गत वैशाखमा मोरङ जिल्ला अदालतमा ‘कीर्ते जालसाज’ मुद्दा दर्ता गरेका छन् । उक्त मुद्दा अदालतमा विचाराधीन छ ।
अदालतमा दर्ता भएको फिरादपत्रका अनुसार केदारका आफ्नै दाजु भरतबहादुर बस्नेतको योजनामा विराटनगर–२ का वडाध्यक्ष र पोखरेल साथै तत्कालीन सचिव सूर्यबहादुर थापासहित १० जना मिलेर षड्यन्त्र रचिएको थियो ।
फिरादपत्रअनुसार भरतबहादुर बस्नेतले वडाका कर्मचारीसँग मिलेमतो गरी आफ्नो भाइ केदारबहादुर र अर्का भाइ पर्शुराम बस्नेतको मृत्यु भइसकेको झूठो विवरण तयार गराएका थिए । पर्शुरामको मृत्यु भने २०६७ मङ्सिर १३ गते भएको थियो । तर सर्जमिन कागजमा २०५८ मङ्सिर १४ गते मृत्यु भएको उल्लेख छ । सोही नक्कली विवरणको आधारमा वडाले सर्जमिन मुचुल्का तयार गरी मालपोत कार्यालयलाई नामसारी सिफारिस गरेको थियो । यसरी उनले आफ्नी सौतेनी आमाको नाममा रहेको जग्गा आफ्नो नाममा नामसारी गराएर तेस्रो पक्षलाई बिक्री गरिसकेका थिए । एक भाइको मृत्यु भए पनि अर्का व्यक्तिलाई पनि मृतक बनाई कागज बनाएको पाइएपछि अदालतमा मुद्दा दर्ता गरिएको हो । जीवित रहेका केदारबहादुरको हकमा सर्जमिन २०७५ असोज १७ मा गरिएको छ । सोही महिनाको १९ गते नै मालपोत कार्यालय इनरुवामा नामसारी सिफारिस पठाइएको थियो ।
नेपाल प्रहरीको इन्स्पेक्टर पदबाट केदारबहादुर सेवानिवृत्त भएका थिए । उनले २०८२ जेठ ११ मा मात्र थाहा पाएको बताए । “सत्य थाहा पाएपछि म जिल्लादेखि अदालतसम्म दौडिन बाध्य भएँ” उनले भने, “सचिवले झूठो कागज बनाउँदै वडाध्यक्षले रोहवरमा सही गरेर यस्तो खेल गरेपछि मलाई न्याय माग्न बाहिर निस्कनु पर्यो ।’ फिरादपत्रमा उल्लेख भएअनुसार, वडाध्यक्ष पोखरेल, सचिव थापा, सर्जमिन मुचुल्कामा सहीछाप गर्ने शान्त पौडेल, भवानीप्रसाद सापकोटा, इन्द्रबहादुर परियार, सन्तोष महत, तीर्थराज मिश्र, दीपक प्रधान र मेनका बस्नेत (अधिकारी) देखिएका छन् । केदारका अनुसार पिता पहलमान बस्नेतका तीन श्रीमती थिए । जेठी मायादेवी, माइली विष्णुकुमारी र कान्छी उमादेवी । जेठी पत्नी मायादेवीको नाममा सुनसरीको हाँसपोसा गाविस ८ (ग) को कित्ता नम्बर १५६ र १५७ मा गरी ३ कठ्ठा ८ धुर जग्गा रहेको थियो । मायादेवीका कुनै छोरा थिएनन्, चार छोरी मात्र थिए । कान्छी उमादेवीका दुई छोरा केदार र पर्शुराम थिए ।
फिरादपत्रमा केदारले वडाध्यक्ष पोखरेलसहित सबै १० विपक्षीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २७९ को उपदफा ३ अनुसार कडा कारबाहीको माग गरेका छन् । यो दफाले सार्वजनिक कागजातमा झूठो विवरण प्रस्तुत गरी कसैको हक, अधिकार, सम्पत्ति खोस्ने कार्यलाई अपराध मानेको छ ।