इनरुवा, ८ कार्तिक । तराई–मधेशको महान् धार्मिक पर्व छठ आज देखि सुरु भएको छ।
व्रतालुहरूले पहिलो दिन ‘नहाखाय’ विधिबाट यो पर्वको सुरुवात गरेका छन। यस दिन व्रतालुहरूले नुहाइधुवाइ गरी शरीर र मन चोख्याएर लौकाको तरकारी र भात खाने गर्छन्। लौका सबैभन्दा चोखो तरकारी मानिने भएकाले यसको माग यस दिन अत्यधिक हुने गर्छ। छठ सम्पन्न नहुन्जेल व्रतालु तथा तिनका परिवारका सदस्यले मासु, माछा जस्ता तामसिक भोजन त्याग गर्छन्।
पर्वको दोस्रो दिन आइतबार साँझ ‘खरना’ अर्थात् खीर रोटी खाने गरिनछ । यस दिन व्रतालुहरूले छठी माताको पूजा गरी दूध र गुँड हालेर पकाएको खीर र पुरी ग्रहण गर्छन्। यो प्रसाद परिवार, इष्टमित्र र छरछिमेकसँग बाँड्ने परम्परा छ। कतैबाट निम्तो नपाएका मानिसले व्रतालुसँग मागेर प्रसाद खाने चलन पनि रहेको छ।
खीर पुरी खाएपछि सोमबार व्रतालुहरूले दिनभरि निर्जल–निराहार व्रत बस्नेछन्। साँझमा घर नजिकका पोखरी, नदी वा सरोवरमा बनेका आकर्षक छठी घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ। मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रत सम्पन्न हुनेछ र त्यसपछि मात्र प्रसाद ग्रहण गरिने परम्परा छ।
सुनसरीको विभिन्न ठाउँमा छठ पर्व मनाउनेको भिड लाग्ने गर्छ । खासगरी इनरुवाको सुनसरी खोला, सुकसेना नहरको विभिन्न खण्डमा, इटहरीको टेडग्रा खोला, दुहवी, भुटहा, जमुबा, देवानगंञ्ज लगायतको विभिन्न ठाउँमा छठ पर्व गर्ने गरेको छ ।
छठ पर्वमा व्रतालुका परिवार तथा छरछिमेक रातभरि भजन–किर्तनमा सहभागी हुने गर्छन्। घरघरमा छठका लागि पिठोको ठेकुवा जस्ता प्रसादहरू अत्यन्त चोखो र पवित्र ढंगले बनाइन्छ।
धार्मिक आस्थाका अनुसार छठ व्रतले सन्तान प्राप्ति, रोग–व्याधिबाट मुक्ति, सुख–शान्ति र समृद्धि ल्याउने विश्वास गरिन्छ।