इनरुवा–कप्तानगञ्ज–भारतीय सीमासम्मको सडक निर्माण अघि बढ्यो

सडक निर्माणका लागि मूल्य अभिवृद्धि कर (भ्याट) सहित १ अर्ब ४६ लाख ५५ हजार ८ सय ७ रुपैयाँ लागत उल्लेख गरिएको छ।
Logo
Popular News शनिबार, कार्तिक ०१, २०८३

इनरुवा, ३१ असोज। सुनसरी सदरमुकाम इनरुवादेखि कप्तानगञ्ज हुँदै भारतीय सीमासम्म जोड्ने मुख्य सडक स्तरोन्नतिको प्रक्रिया अघि बढ्ने भएको छ। हुलाकी राजमार्ग निर्देशनालयले सडक निर्माणका लागि एक अर्बभन्दा बढी रुपैयाँको ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको छ।

हुलाकी राजमार्ग निर्देशनालय, काठमाडौंले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ बमोजिम शुक्रबार प्रकाशित सूचनामार्फत सफल खनाल जेभी, काठमाडौंलाई ठेक्का स्वीकृत गर्ने आशय व्यक्त गरेको हो। सूचनाअनुसार सडक निर्माणका लागि मूल्य अभिवृद्धि कर (भ्याट) सहित १ अर्ब ४६ लाख ५५ हजार ८ सय ७ रुपैयाँ लागत उल्लेख गरिएको छ।

यसअघि हुलाकी राजमार्गअन्तर्गतको इनरुवा–कप्तानगञ्ज सडक निर्माणको ठेक्का योजना कार्यालय, इटहरीले रद्द गरेको थियो। कार्यालयले गत मंसिर १६ गते २२.६६ किलोमिटर लामो सडक निर्माणका लागि गौरीपार्वती–देव एन्ड सायर–भूमि जेभीसँग भएको सम्झौता रद्द गरेको थियो।

उक्त सडक निर्माणका लागि २०७८ माघ २ गते ५२ करोड ७० लाख रुपैयाँमा सम्झौता गरिएको थियो। २०८१ साउनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि तीन वर्ष बित्दासमेत भौतिक प्रगति १८ प्रतिशतमा सीमित भएपछि ठेक्का रद्द गरिएको थियो। निर्माण सम्पन्न गर्ने समयसीमा २०८३ असारसम्म थपिए पनि काममा अपेक्षित प्रगति नभएपछि योजना कार्यालयले सम्झौता अन्त्य गरेको जनाएको थियो।

ठेक्का रद्द भएपछि निर्माण कम्पनीले राखेको १६ करोड ९४ लाख रुपैयाँ कार्यसम्पादन जमानत र २ करोड ३१ लाख रुपैयाँ पेश्की रकम १० प्रतिशत ब्याजसहित जफत गर्ने प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको थियो। निर्माण कम्पनीले अनुमानित लागतभन्दा करिब ५० प्रतिशत कम रकममा ठेक्का लिएको थियो।

यसअघि सहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा काम नगर्ने ठेकेदारमाथि कारबाही गर्ने अभियान तीव्र बनाइएका बेला उक्त सडकको ठेक्का रद्द गरिएको थियो।

लामो समयदेखि सडक निर्माण तथा स्तरोन्नति हुन नसक्दा सुनसरीको दक्षिणी क्षेत्रका स्थानीयवासीले सदरमुकाम इनरुवा आवतजावतमा कठिनाइ भोग्दै आएका छन्। सडकको अवस्था कमजोर हुँदा स्थानीयले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ।

नयाँ ठेक्का प्रक्रिया अघि बढेसँगै सडक निर्माणले गति लिने र दक्षिणी सुनसरीका बासिन्दालाई सदरमुकामसँग जोडिन सहज हुने अपेक्षा गरिएको छ। सडक स्तरोन्नति भएपछि स्थानीय यातायात, व्यापार तथा आर्थिक गतिविधिमा समेत सुधार आउने विश्वास गरिएको छ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800