इनरुवा, २६ मंसिर । देवानगञ्ज गाउँपालिका–२ बजारस्थित श्री आनन्द भगवान मन्दिरको नाममा दर्ता रहेको जग्गामा मदरसा निर्माण गर्ने कार्य तुरुन्त रोक्का गर्न माग गर्दै विश्व हिन्दू परिषद् नेपाल सुनसरी र श्री अनन्त मन्दिर निर्माण संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्।
समितिहरूका अनुसार मन्दिरकै नाममा श्रेस्ता कायम रहेको कित्ता नम्बर १०० को करिब चार कठ्ठा पाँच धुर जग्गामा ‘इस्लामिया मदरसा’ सञ्चालन हुँदै आएको छ। सोही विवादित जग्गामा देवानगञ्ज गाउँपालिकाले २६ लाख ४४ हजार रुपैयाँको लागतमा दुई कोठे भवन निर्माणका लागि ठेक्का लगाएको विषय सार्वजनिक भएपछि स्थानीय तहमा विवाद थप चर्किएको हो।
ज्ञापनपत्रमा मन्दिरको नाममा दर्ता गरिएको जग्गामा अन्य संरचना निर्माण गर्नु गैरकानुनी हुने उल्लेख गर्दै विवादित जग्गा तत्काल खाली गराई मन्दिर निर्माण प्रक्रिया अघि बढाउन माग गरिएको छ।
समितिले देवानगञ्ज गाउँपालिका अध्यक्षलाई पनि लिखित रूपमा ज्ञापनपत्र बुझाएको जनाएको छ।