इनरुवा, १० फागुन । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जिल्लाका सबै राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय बैठकमा उनले निर्वाचन आचारसंहिता सबैले उल्लंघन गरेको उल्लेख गर्दै आफूले गरेको गल्ती बेवास्ता गरेर अरूमाथि मात्र प्रश्न उठाउने प्रवृत्ति देखिएको बताए ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले आचारसंहिता सबैले अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिँदै यसको कार्यान्वयनका विषयमा सबै पक्षले आत्मसमिक्षा गर्नुपर्ने बताए ।
सुनसरी–४ अन्तर्गत भोक्राहा नरसिंह–४ मा हिजो नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी का कार्यकर्ताबीच भएको विवादपछि आज सर्वदलीय बैठक बोलाइएको थियो ।
बैठकमा विभिन्न विषयमा पाँच बुँदे सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
