सुनसरी मिडिया प्रालिद्वारा सञ्चालित पपुलर एफएम ९९.५ मेगाहर्ज आफ्नो प्रसारण यात्राको १९औँ वर्षमा प्रवेश गरेको छ। दसैँको घटस्थापनाका दिन पहिलोपटक यस रेडियोको आवाज गुञ्जिएकाले सोही दिनलाई वार्षिकोत्सवका रूपमा मनाउँदै आइएको छ। यस अवसरमा सम्पूर्ण श्रोता, विज्ञापनदाता, शुभेच्छुक तथा सहयोगीहरूप्रति हार्दिक आभार र शुभकामना व्यक्त गर्दछौँ।
इनरुवामा सशक्त सञ्चारमाध्यमको उपस्थिति सीमित रहेको अवस्थामा स्थानीय युवाहरूको पहलमा स्थापना भएको पपुलर एफएमले आज बहुभाषिक रेडियोका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। नेपालीसहित स्थानीय भाषामा सूचना, समाचार, शिक्षा र मनोरञ्जन प्रदान गर्दै रेडियोले विभिन्न भाषा, संस्कृति र समुदायलाई जोड्ने काम गर्दै आएको छ।
रेडियोको दायित्व सूचना प्रवाहमा मात्र सीमित नभई जनताका समस्या उजागर गर्नु, सार्वजनिक सेवा प्रवाहमा देखिएका कमजोरीबारे प्रश्न उठाउनु, सुशासन र पारदर्शिताको पक्षमा आवाज बुलन्द गर्नु तथा समाजमा सकारात्मक परिवर्तनका लागि बहस सिर्जना गर्नु पनि सञ्चारमाध्यमको जिम्मेवारी हो। राष्ट्रियता, लोकतन्त्र, प्रेस स्वतन्त्रता र सुशासनप्रति प्रतिबद्ध रहँदै जनताको आवाज बुलन्द गर्नु पपुलर एफएमको मूल दायित्व हो।
डिजिटल सञ्चारको बढ्दो प्रभावसँगै रेडियोसामु चुनौती र अवसर दुवै छन्। प्रविधिको उपयोग गर्दै श्रोतासँगको सम्बन्ध थप बलियो बनाउनु र सत्य, तथ्य तथा निष्पक्षतामा आधारित पत्रकारितालाई प्राथमिकता दिनु आजको आवश्यकता हो।
पपुलर एफएमको १९ वर्षे यात्रामा श्रोताको माया, विज्ञापनदाताको विश्वास, सञ्चारकर्मीको मेहनत र सहयोगीहरूको साथ महत्त्वपूर्ण आधार बनेका छन्। आगामी दिनमा पनि रेडियोले आवाजविहीनको आवाज बन्दै स्थानीय भाषा, संस्कृति र जनचासोका विषयलाई प्राथमिकतामा राख्नेछ। राष्ट्रियता, लोकतन्त्र, प्रेस स्वतन्त्रता र सुशासनको पक्षमा निरन्तर खबरदारी गर्दै समाजप्रतिको आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्न पपुलर एफएम प्रतिबद्ध छ।