इनरुवा, १६ चैत । कोशी प्रदेशमा यस वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ८० हजार ९ सय १० जना परीक्षार्थी सहभागी हुने भएका छन् ।
आगामी बिहीबारदेखि सुरु भई चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षामा प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी मोरङबाट १८ हजार १ सय ३५ परीक्षार्थी सहभागी हुनेछन् भने सबैभन्दा कम तेह्रथुमबाट १ हजार ५ सय ४५ जना रहनेछन् ।
झापाबाट १७ हजार ४ सय ८४, सुनसरीबाट १३ हजार ९ सय ७८, उदयपुरबाट ५ हजार ७ सय १० र इलामबाट ३ हजार ८ सय २६ परीक्षार्थी सहभागी हुनेछन् । यस्तै, भोजपुरबाट २ हजार ८ सय ८९, पाँचथर र संखुवासभाबाट समान २ हजार ८ सय ४९, धनकुटाबाट २ हजार ६ सय ३६, खोटाङबाट २ हजार ८ सय ५७, ओखलढुंगाबाट २ हजार २ सय १५, ताप्लेजुङबाट २ हजार ९ तथा सोलुखुम्बुबाट १ हजार ६ सय ३६ परीक्षार्थी रहने जनाइएको छ ।
शिक्षा विकास निर्देशनालय धनकुटाका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ । अनुगमन, सुपरिवेक्षण तथा उत्तरपुस्तिकासम्बन्धी व्यवस्था समेत मिलाइसकिएको निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेलले जानकारी दिएका छन् ।