इनरुवा, ३ जेठ । सुनसरीको बर्जु गाउँपालिकास्थित सितागञ्ज स्वास्थ्यचौकीमा “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” अभियानअन्तर्गत भन्सा सुधार कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा भान्साकोठाको सरसफाइ, व्यवस्थित निर्माण, स्वस्थकर खाना पकाउने तरिका तथा दैनिक प्रयोगमा आउने जडीबुटीजन्य खाद्य सामग्रीहरूको औषधीय महत्वबारे जानकारी दिइएको थियो । आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीका प्रमुख डा. उमेश कुमार मेहताले स्वस्थ भान्सा नै स्वस्थ परिवारको आधार भएकाले भान्साको उचित व्यवस्थापन आवश्यक रहेको बताए ।
उनका अनुसार भान्साको सफाइ, पौष्टिक तथा सन्तुलित आहारको प्रयोग र जडीबुटीको सही उपयोगले नसर्ने रोगको जोखिम कम गर्न तथा सामान्य स्वास्थ्य समस्याको घरेलु उपचारमा सहयोग पुग्ने गर्दछ । उनले परिवारको स्वास्थ्य सुधारका लागि घरको भान्साबाटै सचेतना सुरु हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, आमा समूह, कृषक समूह, वन उपभोक्ता समूहका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए ।
कार्यक्रमको सहजीकरण जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीका प्रमुख डा. मेहताले गरेका थिए ।

