इनरुवा डे को अवसरमा ३३२ जना सम्मानित

Logo
Popular News शुक्रबार, जेठ १५, २०८३

इनरुवा, १५ जेठ । इनरुवा स्थापना गर्ने परिवारका सदस्यहरुलाई इनरुवा नगरपालिकाले “इनरुवा डे” को अवसरमा सम्मान गरेको छ ।

वि.सं. १९८८ साल जेठ १५ गते झोडा फडानी गरी सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने धनबहादुर श्रेष्ठका नाति तथा होमबहादुर श्रेष्ठका छोरा रमेश श्रेष्ठ र दिलबहादुर श्रेष्ठका छोरा क्याविनेट श्रेष्ठलाई शुक्रबार आयोजित “इनरुवा डे कार्यक्रम” मा सम्मान गरिएको हो ।

इनरुवाको स्थापना, विकास र ऐतिहासिक योगदानको कदर गर्दै नगर प्रमुख केदार भण्डारी, उपप्रमुख विनिता कुमारी मेहता तथा प्रमुख अतिथि एवं हिक्मत कार्की ले दोसल्ला, खादा र सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए ।

सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले “इनरुवा डे” कार्यक्रममार्फत श्रेष्ठ परिवारसहित ३३२ जनालाई सम्मान गरेको जनाएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले “इनरुवा डे” ले सकारात्मक र सार्थक सन्देश दिएको बताए । युवालाई माया र ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो ।

मुख्यमन्त्री हिक्मत कार्कीले विकासका लागि सबैको योगदान महत्वपूर्ण हुने उल्लेख गर्दै सम्मानित व्यक्तिहरुलाई बधाई दिए । गाउँ, नगर र देशका लागि योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्नु राज्यको दायित्व भएको उनले बताए ।

नगर प्रमुख केदार भण्डारीका अनुसार कार्यक्रममा इनरुवा स्थापनामा ऐतिहासिक योगदान गर्ने १ जना, विभिन्न विधामा “इनरुवाका पहिलो व्यक्ति” ६९ जना, विद्यावारिधि गर्ने २४ जना, राष्ट्रिय खेलाडी १३ जना, वरिष्ठ अधिवक्ता ७ जना, ज्येष्ठ नागरिक २० जना, सामाजिक सेवा तथा संघसंस्था ३२ वटा, पहिलो एसएलसी तथा एसईई उत्कृष्ट ३५ जना र जग्गादाता १३१ जनासहित कुल ३३२ जनालाई सम्मान गरिएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगर प्रमुख भण्डारीले नगर कार्यपालिकाबाट स्वीकृत कार्यक्रमअनुसार इनरुवाको स्थापना, विकास तथा विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुको सम्मान गरिएको बताए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800