इनरुवा, २४ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खाद्यजन्य रोगहरूको रोकथाम तथा नियन्त्रणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन्।
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री मेहताले सुरक्षित र स्वच्छ खानपानको सुनिश्चिततामार्फत जनस्वास्थ्य सुधार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्।
उनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयन, खाद्य परीक्षण प्रयोगशालाको क्षमता अभिवृद्धि, जोखिममा आधारित बजार अनुगमन तथा आवश्यक नीतिगत सुधारलाई तीव्रता दिइने जानकारी दिइन्।
मन्त्री मेहताले खाद्य उत्पादनदेखि उपभोगसम्मका सबै चरणमा स्वच्छता कायम गर्न असल कृषि अभ्यास, असल उत्पादन अभ्यास र उपयुक्त भण्डारण प्रणाली अपनाउनुपर्नेमा जोड दिइन्। यस्ता उपायले उपभोक्तासम्म गुणस्तरीय खाद्यवस्तु पुग्ने र असुरक्षित खाद्य सेवनबाट हुने स्वास्थ्य तथा आर्थिक क्षति न्यूनीकरण हुने उनको भनाइ छ।
यस वर्ष ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान’ भन्ने नारासहित विश्व खाद्य स्वच्छता दिवस मनाइँएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष दूषित खाद्य पदार्थका कारण करिब ६० करोड मानिस बिरामी पर्ने र ४ लाख २० हजार जनाको मृत्यु हुने गरेको छ।