प्रा.डा. स्मृती कार्कीले वीपी प्रतिष्ठानको उपकुलपतिका रूपमा पदभार ग्रहण

Logo
Popular News सोमबार, आषाढ २९, २०८३

इनरुवा, २९ असार । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त भएकी प्रा.डा. स्मृती कार्कीले सोमबार पदभार ग्रहण गरेकी छन्।

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ (ख) (१) बमोजिम नेपाल सरकारद्वारा उपकुलपतिमा नियुक्त भएकी प्रा.डा. कार्की प्रतिष्ठानको प्याथोलोजी विभागकी प्रमुख हुन्।

पदभार ग्रहण कार्यक्रममा प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख तथा डेपुटी अस्पताल निर्देशक, विभिन्न संकायका डिन, सहायक अस्पताल निर्देशक, प्रवक्ता, स्कुल तथा कलेजका प्रमुख, विभागीय प्रमुख, मेट्रोन, महाशाखा तथा शाखा प्रमुख, वार्ड इन्चार्ज, शिक्षक, चिकित्सक, कर्मचारी र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, प्रतिष्ठित व्यक्तित्व तथा सञ्चारकर्मीहरूको समेत सहभागिता थियो।

प्रा.डा. कार्कीले यही प्रतिष्ठानबाट प्याथोलोजी विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेकी हुन्। उनले यसअघि प्रतिष्ठानको कार्यकारिणी समिति सदस्यका रूपमा तथा विभिन्न महत्वपूर्ण समितिहरूको अध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेकी छन्। विभागीय प्रमुखका रूपमा लामो अनुभव बटुलेकी उनी हाउस अफिसरदेखि प्राध्यापकसम्मको यात्रा तय गर्दै प्रतिष्ठानमै निरन्तर सेवा गर्दै आएकी छन्।

यसअघि नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार तत्कालीन उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ, शिक्षाध्यक्ष प्रा.डा. संजीव कुमार शर्मा, रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौला तथा अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद पदमुक्त भएपछि उपकुलपति पदका लागि खुला आवेदन आह्वान गरिएको थियो।

उक्त प्रक्रियामा १६ जना चिकित्सक तथा प्राध्यापकले प्रतिस्पर्धा गरेका थिए। छनोट प्रक्रियाबाट अन्तिम सात जनाको सूची तयार भएपछि प्रा.डा. स्मृती कार्की उपकुलपतिमा नियुक्त हुन सफल भएकी हुन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800