सुनसरी बहुमुखी क्याम्पस प्रमुखमा लिला आचार्य अपाङ्गाई नियुक्त

Logo
Popular News शुक्रबार, साउन ०१, २०८३

इनरुवा, १ साउन । सुनसरी बहुमुखी क्याम्पसको प्रमुखमा लिला आचार्य अपाङ्गाई नियुक्त भएकी छन्। उनी क्याम्पसको ४६ वर्षे इतिहासमै पहिलो महिला क्याम्पस प्रमुख बनेकी हुन्।

शुक्रवार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले अपाङ्गाईलाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।

लामो समयदेखि क्याम्पसमा प्राध्यापन तथा शैक्षिक प्रशासनसँग आबद्ध रहँदै आएकी अपाङ्गाईले आफ्नो कार्यकालमा क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक सुधार, सुशासन तथा समग्र संस्थागत विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएकी छन्।

वि.सं. २०३७ सालमा स्थापना भएको सुनसरी बहुमुखी क्याम्पस इनरुवाको उच्च शिक्षाको अग्रणी सामुदायिक शैक्षिक संस्था हो। तत्कालीन सांसद श्यामप्रसाद गुप्ताको नेतृत्व तथा शिक्षाविद् एवं स्थानीय सरोकारवालाहरूको सक्रिय पहलमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त गरी क्याम्पस स्थापना गरिएको थियो।

स्थापनाको प्रारम्भिक चरणमा क्याम्पसका कक्षाहरू इनरुवा–१ स्थित श्री भगवती माध्यमिक विद्यालयमा सञ्चालन गरिन्थे। त्यसबेला आईए, आईकम, बीए र बीकम तहका कक्षाहरू सञ्चालनमा थिए।

हाल क्याम्पसको आफ्नै प्रशस्त जग्गा, आधुनिक भवन तथा आवश्यक भौतिक पूर्वाधार रहेको छ। यहाँ व्यवस्थापन, शिक्षा र मानविकी संकायअन्तर्गत स्नातकदेखि स्नातकोत्तर तहसम्म अध्ययन–अध्यापन हुँदै आएको छ। व्यवस्थापन संकायमा वि.सं. २०७१ सालदेखि तथा शिक्षा संकायमा वि.सं. २०७६ सालदेखि स्नातकोत्तर तहको कार्यक्रम सञ्चालनमा रहेको छ। प्लस टु समेत संचालन भईरहेको छ ।

नयाँ नेतृत्वसँगै सुनसरी बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर, अनुसन्धान, संस्थागत सुशासन र समग्र विकासले थप गति लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800