काठमाडौं, १८ असोज। नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। पाँच दिनसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन समारोहका लागि खुलामञ्चलाई सजाएर तयारी अन्तिम चरणमा पुर्याइएको छ।
महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे हुने कार्यक्रम रहेको छ। असोज १८ गतेदेखि २२ गतेसम्म चल्ने महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट अधिकांश प्रतिनिधि काठमाडौं आइपुगेका छन्। बाँकी प्रतिनिधि आउने क्रम जारी रहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।
कांग्रेसका अनुसार महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। उद्घाटन समारोहपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। त्यसपछि असोज २१ र २२ गते पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने कार्यक्रम छ।
महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेसले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायत सहभागी हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, कांग्रेसले भारत, चीन, अमेरिका लगायतका मुलुकबाट विदेशी पाहुनालाई समेत निमन्त्रणा गरेको छ।
महाधिवेशनले कांग्रेसको आगामी राजनीतिक दिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गर्ने भएकाले यसलाई पार्टीभित्र विशेष महत्त्वका साथ हेरिएको छ।