इनरुवा, २ मंसिर । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी गरेको आरोपमा संस्थापक शिवकुमार विश्वकर्मा (लामिछाने) सहित दुई जना पक्राउ परेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई २०८३ मंसिर २ गते नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बराह सहकारीका ४५ वर्षीय संस्थापक शिवकुमार विश्वकर्मा (लामिछाने) र सहकारीको ऋण उपसमिति सदस्य तथा ग्राहक सेवा (कस्टमर केयर) मा कार्यरत ३३ वर्षीया अस्मिता भण्डारी रहेका छन्।
प्रहरीका अनुसार बराह सहकारी ठगी प्रकरणमा १७ हजार १० जना बचतकर्ता पीडित भएका छन्। शंकर थापासहित ४ हजार २४३ जनाले दिएको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको मुद्दामा कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ बिगो कायम गरिएको छ।
धरानमा मुख्य कार्यालय रहेको बराह सहकारीले नेपालमा ३० वटा र विदेशमा चारवटा कम्पनी स्थापना गरी बचतकर्ताको रकम अपचलन तथा ठगी गरेको आरोप लागेको छ।
सहकारीको रकम हिनामिना गरी फरार रहेका प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरूमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।