भारत भ्रमणमा प्रधानमन्त्री शाहको आर्थिक कूटनीतिमा जोड, ५२ व्यवसायी पनि दिल्ली जाने

Logo
Popular News शुक्रबार, मंसिर ०५, २०८३

इनरुवा, ४ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा राजनीतिक सम्बन्ध विस्तारसँगै आर्थिक कूटनीति, व्यापार प्रवर्द्धन र निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकतामा राखिने भएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते हुने दुईदिने भ्रमणका क्रममा नेपाल र भारतबीच व्यापार, लगानी, ऊर्जा तथा विकास साझेदारीका विषयमा महत्वपूर्ण छलफल हुने कार्यक्रम तय भएको छ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरम आयोजना गरिने जानकारी दिए। फोरममा दुवै देशका व्यवसायीले लगानीका अवसर, व्यापार विस्तार, नीतिगत सहकार्य र आर्थिक साझेदारीका सम्भावनाबारे छलफल गर्नेछन्।

भ्रमणलाई आर्थिक उपलब्धिसँग जोड्ने उद्देश्यसहित निजी क्षेत्रबाट ५२ सदस्यीय नेपाली व्यवसायी टोलीसमेत भारत जाने भएको छ। व्यवसायीबीचको छलफलले दुई देशबीच लगानीको वातावरण निर्माण गर्न तथा व्यापारिक सम्बन्धलाई थप विस्तार गर्न सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ।

राजनीतिक भेटघाटतर्फ प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। मोदीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा औपचारिक दिवाभोजसमेत आयोजना गर्नेछन्।

प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस जयशंकरसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन्। भ्रमणका क्रममा नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत रहेको छ।

यस भ्रमणमा आर्थिक तथा पूर्वाधार विकासका विषयले पनि प्राथमिकता पाउने भएका छन्। ऊर्जा सहकार्य र सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने तयारी गरिएको छ।

त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सचिव राईले नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत तथा जनस्तरमा घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

भ्रमणमा सरकारी प्रतिनिधिमण्डलका ३४ सदस्यसहित निजी क्षेत्रका व्यवसायी तथा सञ्चारकर्मी सहभागी हुनेछन्। भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी उपलब्धिबारे जानकारी गराइने मन्त्रालयले जनाएको छ।

यसपटकको भ्रमणलाई केवल औपचारिक राजनीतिक भेटघाटमा सीमित नराखी व्यापार, लगानी र विकास साझेदारीका क्षेत्रमा ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800