इनरुवा, १९ असोज। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीले बालबालिकाका लागि निःशुल्क स्वर्णबिन्दु प्राशन कार्यक्रम आजदेखि सुरु गरेको छ।
पुष्य नक्षत्रको अवसर पारेर केन्द्रले १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई लक्षित गरी स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरेको हो।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीका प्रमुख डा. उमेश कुमार मेहताका अनुसार आज बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म केन्द्रको कार्यालयमा कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा सहभागी बालबालिकालाई स्वर्णबिन्दु निःशुल्क रूपमा प्राशन गराइएको उहाँले जानकारी दिनुभयो।
आयुर्वेदिक परम्पराअनुसार पुष्य नक्षत्रलाई औषधि सेवन तथा स्वास्थ्यसम्बन्धी संस्कारका लागि शुभ मानिन्छ। यही मान्यताका आधारमा पुष्य नक्षत्रको अवसरमा बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउने कार्यक्रम सञ्चालन गरिएको केन्द्रले जनाएको छ।
स्वर्णबिन्दु प्राशन आयुर्वेदमा विशेष विधिबाट तयार गरिएको स्वर्णयुक्त औषधीय मिश्रण निश्चित मात्रा र विधिअनुसार बालबालिकालाई सेवन गराउने परम्परागत अभ्यास हो। आयुर्वेदिक मान्यताअनुसार यसले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता, शारीरिक तथा मानसिक विकास र स्मरणशक्तिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ।
