इनरुवा, ९ कात्तिक। सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसलिया खोलामा बोराभित्र हालिएको अवस्थामा फेला परेको पुरुषको शवको पहिचान खुलेको छ। मृतक भारतको उत्तर प्रदेशस्थित वाराणसी (बनारस) घर भएका लालजी प्रसाद गुप्ता रहेको प्रहरीले जनाएको छ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार गुप्ता पछिल्लो ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका थिए। उनले विराटनगर महानगरपालिका–६ महावीर रोडमा ‘लाल ब्याट्री पसल’ सञ्चालन गर्दै ब्याट्रीको कारोबार गर्दै आएका थिए। उनी विराटनगरमै बसोबास गर्दै आएको प्रहरीले जनाएको छ।
आइतबार बिहान स्थानीयवासीले केसलिया खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लसहितको टोली घटनास्थल पुगेको थियो।
एसपी मल्लका अनुसार प्रहरीले बिहान करिब १० बजे घटनाबारे जानकारी पाएको थियो। बोराभित्र शव फेला परेको घटनाको कारण, मृत्युको अवस्था र घटनामा संलग्न व्यक्तिबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन तथा संलग्न व्यक्तिको पहिचान गर्न थप अनुसन्धान गरिरहेको जनाएको छ।