इनरुवा, १ मंसिर । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
जनकपुरबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस मगलवार दिउँसो करिब २ बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको हो ।
दुर्घटनामा माइक्रोबसमा सवार चालकसहित सबै १४ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ ।
घाइतेमध्ये ९ जनाको पहिचान खुलेको छ । पहिचान खुल्नेमा माइक्रोबस चालक धनुषाको शहीदनगर नगरपालिका–८ निवासी दीपक कुमार दास, शहीदनगर–७ की १७ वर्षीया रानी कुमारी मण्डल तथा शहीदनगर–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित रहेका छन् ।
त्यस्तै, ललितपुरको भैँसेपाटी निवासी ३६ वर्षीया प्रियाङ्का साह र उनका छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह तथा ३ वर्षीया ओमी साह पनि घाइते भएका छन् ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेर उद्धारमा खटिएको थियो ।
बाँकी पाँच जना घाइतेको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।