प्रतिजैविक प्रतिरोध नियन्त्रणका लागि ‘एक स्वास्थ्य, एक कार्य’ अवधारणामा जोड

Logo
Popular News शनिबार, मंसिर ०६, २०८३

इनरुवा ५, मंसिर । प्रतिजैविक प्रतिरोध (AMR) को बढ्दो जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य प्रणाली र वातावरणबीच समन्वय गर्दै एक स्वास्थ्य (One Health) अवधारणामा आधारित बहुक्षेत्रीय प्रयासलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ को अवसरमा नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा कृषि, पशुपन्छी विकास र वातावरणसम्बद्ध निकायहरूले प्रतिजैविक प्रतिरोध रोकथाम तथा नियन्त्रणका लागि साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

यसै अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको समुपस्थितिमा प्रतिजैविक प्रतिरोध रोकथाम तथा नियन्त्रणसम्बन्धी विषयकेन्द्रित औपचारिक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा मानव स्वास्थ्य, पशु स्वास्थ्य, खाद्य प्रणाली तथा वातावरणमा प्रतिजैविक औषधिको जथाभावी प्रयोगलाई निरुत्साहित गर्दै यसको विवेकपूर्ण र जिम्मेवार प्रयोगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याइएको छ। साथै, प्रमाणमा आधारित अभ्यास, निगरानी प्रणाली तथा अनुसन्धानलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ।

कार्यक्रमकै अवसरमा नेपालका अस्पतालहरूमा प्रतिजैविक औषधिको प्रयोगको अवस्था अध्ययन गर्ने उद्देश्यले तयार गरिएको सर्वेक्षण (Point Prevalence Survey–PPS) सम्बन्धी प्रोटोकलसमेत सार्वजनिक गरिएको छ। उक्त प्रोटोकलले अस्पतालहरूमा प्रतिजैविक औषधिको प्रयोगसम्बन्धी अवस्था पहिचान तथा प्रमाणमा आधारित सुधारका प्रयासलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिजैविक औषधिको प्रभावकारिता जोगाउनु र भावी पुस्ताको स्वास्थ्य सुरक्षित राख्नु आजको साझा चुनौती बनेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, विकास साझेदार, सरोकारवाला निकाय तथा आम नागरिकबीच सहकार्य र समन्वय आवश्यक रहेको सन्देश कार्यक्रममा दिइएको छ।

यस वर्षको विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको नारा ‘एक स्वास्थ्य, एक कार्य: अहिले नै प्रतिजैविक प्रतिरोध रोकथाम गरौँ’ रहेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800