चतराधाममा बाबा बागेश्वरधाम सरकारबाट हनुमन्त कथावाचन आजबाट शुरु

Logo
Popular News बुधबार, बैशाख ०५, २०८१

इनरुवा, ५ बैशाख । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतराधाममा १२ बर्षे पिण्डेश्वर पुर्ण महाकुम्भमा आज देखि आचार्य धिरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार)ले हनुमन्त कथावाचन शुरु गरेका छन । चतराधाम नेपालका चार धाममध्येको एक धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ ।

भारत मध्यप्रदेशस्थित प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य शास्त्रीले बैशाख ५ देखी ११ गते सम्म चतराधाममा १२ बर्षे पिण्डेश्वर पुर्ण महाकुम्भमा हनुमन्त कथाबाचन गर्ने आयोजकले जानकारी दिएको छ । बागेश्वरधाम सरकारका नामले चर्चित उनी आध्यात्मिक गुरुका रुपमा परिचित छन ।

चैत्र २७ गते मंगलबार चतराधामस्थित एक समारोहबीच उक्त मेलाको उद्घघाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए । एक महिनासम्म हुने कुम्भमेला वैशाख २८ गतेसम्म जारी रहनेछ ।

महाकुम्भमा भक्तजनका लागि खाने, बाहिरबाट आउने पाहुनालाई बस्ने र बिरामी हुँदा उपचारको व्यवस्था गरिएको छ भने कुनै समस्या आइपर्दा २४ सै घण्टा दमकल र दुईवटा एम्बुलेन्सको व्यवस्था पनि गरिएको छ। कुम्भ मेलामा भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायत देशबाट धार्मिक अगुवाको उल्लेखनीय सहभागिता रहने आयोजकको भनाई छ ।

अमृतको थोपा झरेको भारतको मध्यप्रदेशस्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नासिक र उत्तराखण्डस्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएको र नेपालको चतराधाममा अमृतको तर भेटिएकोले यसको महत्व र महिमा ठुलो रहेको छ । कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गरेर धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा जल चढाउदा पापबाट मुक्त भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

नेपालमा पहिलो पटक २०५९ सालको चैत्रशुक्ल प्रतिपदा अर्थात् चैत ६ गतेदेखि वैशाख शुक्ल तृतीयासम्म एक महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थियो। जुन महोत्सव नेपालको इतिहासमा पहिलो कुम्भ मेला थियो। यस्तै, चतराधाममा २०६३/६४ सालमा दोस्रो कुम्भ, २०७०/७१ मा तेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७५/७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला लागेको थियो। कुम्भ मेलामा आएर स्नान गर्दा जीवनमा वरदान प्राप्ति हुने विश्वास रहेको छ। बराह क्षेत्रको चतरामा १२/१२ वर्षमा महाकुम्भ मेला र ६/६ वर्षमा अर्ध कुम्भमेला लाग्ने गर्छ।

प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

छिटै आउदै छ

सम्पर्क

025-566800