

इनरुवा, ७ कार्तिक । नेपालका पूर्वी नाकाहरू पछिल्लो समय लागुऔषध ओसारपसारको प्रमुख ट्रान्जिट पोइन्ट बनेका छन्। भारतसँग सटेका खुला सीमाना र कमजोर निगरानीका कारण लागुऔषध कारोबारीहरूले पूर्वी नाकालाई सुरक्षित मार्गको रूपमा प्रयोग गर्न थालेका हुन्।
सुनसरी, मोरङ, झापा लगायतका नाकाबाट विभिन्न प्रकारका लागूऔषध विशेषगरी ब्राउन सुगर, कोरेक्स, डाइजापाम र नेत्रभिट ट्याब्लेटहरू नेपाल भित्र्याइने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।
गत केही महिनामा मात्र सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयहरूले सयौँ ग्राम ब्राउन सुगर र हजारौँ क्याप्सुलसहित दर्जनौं व्यक्ति पक्राउ गरेका छन्। प्रहरीले सीमावर्ती क्षेत्रमा थप चेकप्वाइन्ट स्थापना गरी निगरानी कडा पारेको जनाएको छ।
प्रहरीका अनुसार, साना समूहमा कार्यरत गिरोहहरूले मोटरसाइकल, सवारीभित्र लुकाएर वा पैदल हिँडेर साना–साना मात्रामा लागूऔषध भित्र्याउने गरेका छन्। ती पदार्थहरू पछि ठूला शहरहरू धरान, बिराटनगर र काठमाडौंसम्म ओसारिने गरेको पाइन्छ।
त्यस्तै भारत लैजाने क्रममा अत्याधिक मात्रामा गाजा बरामत भएको छ । नेपालबाट भारत लैजाने क्रममा धरान, विराटनगर लगायतको सिमा क्षेत्रबाट पछिल्लो समय अत्याधिक मात्रमा प्रहरीले गाजा बरामत गरेपनि लैजाने क्रम नरोकिएको समाजिक अभियन्ताहरुको दावी छ ।
सामाजिक अभियन्ताहरूले सीमावर्ती क्षेत्रमा बेरोजगारी, खुला सीमा र कानुनी कार्यान्वयनमा कमजोरीलाई यस समस्याको प्रमुख कारण बताएका छन्। उनीहरूले सरकार र सुरक्षा निकायबीच समन्वय मजबुत बनाउन आग्रह गरेका छन्।