इनरुवा, ९ कार्तिक । छठपर्वको दोस्रो दिन आज व्रतालुहरू ‘खरना’ को तयारीमा व्यस्त छन् । शनिबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालुहरू आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् ।
परम्पराअनुसार व्रतालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास बस्छन् । राति सक्खर, दूध र चामलबाट बनाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने चलन छ । त्यसपछि चढाएको खिरलाई प्रसादस्वरूप ग्रहण गर्ने परम्परा मिथिलामा ‘खरना’ भनेर चिनिन्छ ।
छठ महापर्वको पहिलो दिन अर्थात् ‘नहाय–खाय’ वा ‘अर्बा–अर्बाइन’मा व्रतालुले आत्मशुद्धिका लागि उसिना चामल, लसुन, प्याज, कोदो र मुसुरोसहितका अशुद्ध मानिने परिकार खान छोड्छन् । यो दिनलाई आत्मशुद्धि र धार्मिक शुद्धताको प्रतीकका रूपमा लिइन्छ ।
आजको दिन विशेषगरी श्रद्धा, निष्ठा र आत्मसंयमको प्रतीक मानिन्छ । माटाको नयाँ चुल्हो र भाँडामा पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई अर्पण गरिन्छ । चन्द्रदर्शनपछि व्रतालु र परिवारका सदस्यहरूले यही प्रसाद ग्रहण गर्छन् ।
छठपर्वको मुख्य विधि भोलि सोमबार कात्तिक शुक्ल षष्ठीका दिन सम्पन्न गरिनेछ । व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै जलाशय घाटमा स्नान र सूर्योपासना गर्नेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।
त्यसपछि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गरिन्छ । यसलाई ‘भोरका अरख’ र ‘पारन’ पनि भनिन्छ । व्रतालुले ‘खरना’का खिर खाएपछि निराहार व्रत सुरु गर्छन्, जुन सप्तमीका दिन उदाउँदो सूर्यको अघ्र्यपछि मात्र तोडिन्छ ।
छठपर्वमा ठकुवा, भुसुवा जस्ता मिष्टान्न परिकार बनाउने र इष्टमित्रसँग बाँड्ने परम्परा रहेको छ । यी परिकार ढिकी–जाँतोमा कुटिएको पीठोबाटै तयार गरिन्छ ।